
स्थानीय तहमा दलित प्रतिनिधित्वको सवाल
अघिल्लो पटक निर्वाचित दलित जनप्रतिनिधिहरूको अनुभव र कामको समेत मूल्याङ्कन गर्दै ती माथिल्लो पदमा पुग्ने सुनिश्चितता गर्नुपर्छ ।
नेपाली समाजले दलितलाई पछाडि पारिएको वा उत्पीडित समुदायका रूपमा मात्रै बुझ्ने गरेको छ । यही साँघुरो बुझाइका कारण दलित समुदायप्रति सहानुभूतिको दृष्टि राखिन्छ । त्यसैले नेपाली राज्यसत्ताले दलितलाई गरेको असमान व्यवहारबारे जुन स्तरमा बहस हुनुपर्थ्यो, अझै हुन सकेको छैन । किनभने राज्यको असमावेशी चरित्रबारे खासै चर्चा हुने गर्दैन ।
पछिल्लो दशकमा भएका महत्त्वपूर्ण संघर्ष र आन्दोलनहरू, खास गरी दसवर्षे माओवादी जनयुद्ध, २०६२–६३ सालको जनआन्दोलन, महिला आन्दोलन, मधेश विद्रोह, थारू आन्दोलन र विभिन्न समयमा भएका दलित समुदायको प्रतिरोधका कारण नेपाली राजनीतिक परिदृश्यमा आशालाग्दो परिवर्तन भएको छ । तर दलित तथा सीमान्तकृत समुदायका लागि देश जति नै प्यारो र आफ्नो भए पनि राज्य पराई/बिरानो नै छ ।
नेपालको संविधान–२०७२ को प्रस्तावना, धारा ४, धारा ३८(४), ४०(१) र धारा ४२ लगायत राज्यको निर्देशक सिद्धान्तसमेतमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने भनिएको छ । तर संविधानको यो मूल भावना २०७४ को आम निर्वाचनको परिणाममा प्रतिविम्बित भएन । तीनै तहका सरकारमा दलित, मुस्लिम र थारू समुदायको सार्थक प्रतिनिधित्व हुन सकेन । आफैंले बनाएको संविधानको मूल मर्मलाई राजनीतिक दलहरूले आत्मसात् नगरेको तथ्य गत निर्वाचनको परिणामले देखाउँछ ।
दायाँको तथ्याङ्कले नेपालका राजनीतिक दलहरू र तिनका नेतामा जात व्यवस्था र पित्तृसत्ता कति हाबी छ भन्ने प्रस्ट पार्छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ६ बुँदा २ मा पालिका तहको प्रत्येक वडा समितिमा एक दलित महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरिएकाले देशैभरि ६,५६७ जना दलित महिला जनप्रतिनिधि चुनिए । स्थानीय तहको निर्वाचन ऐनले यस्तो व्यवस्था नगरेको भए दलित महिलालाई वडा सदस्यको जिम्मेवारीमा देख्न पाइने थिएन । त्यसैले पालिका तहमा देखिएको इन्द्रेनी तस्बिरलाई अर्थपूर्ण रूपमा लिनुपर्छ ।
गएको एक महिनामा पंक्तिकारलाई सातै प्रदेश पुगेर राजनीतिक दलहरूका नेता, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, दलित भ्रातृ संस्थाका नेताहरू, दलित अभियन्ताहरू, स्थानीय जनप्रतिनिधिहरू र दलित महिला वडा सदस्यहरूसँग साक्षात्कार गर्ने अवसर मिलेको थियो । छलफलका क्रममा अधिकांश गैरदलित नेताले एउटै रटान लगाएका थिए । उनीहरूको भनाइ थियो- दलितलाई टिकट दिन त हुन्थ्यो तर दलितलाई टिकट दिए चुनाव नै जित्दैनन् ।
गैरदलित राजनीतिक नेतृत्वले बनाएको यस्तो विभेदकारी भाष्यले दलितको राजनीतिक प्रतिनिधित्व सङ्कटमा परेको छ । आसन्न निर्वाचनमा यही मानसिकताले निरन्तरता पाउने प्रबल सम्भावना छ । गठनबन्धन र जित्नैपर्ने दबाबको उपजस्वरूप दलितहरूलाई टिकट नै नदिने सम्भावना बढेको छ । यस्तो परिस्थिति आउनु दुःखद हुनेछ ।
के राजनीतिक दलहरू संविधानको मूल मर्म समावेशी समानुपातिक प्रणाली संस्थागत गर्न चाहँदैनन् ? के उनीहरू राज्यसत्तामा खस–आर्य पुरुषको प्रभुत्वलाई चिरकालका लागि कायम राख्न चाहन्छन् ? के नेपाली समाजको विविधता राज्य संयन्त्रमा झल्किनुपर्दैन ? दलित तथा सीमान्तकृत समुदायलाई आन्दोलनमा प्रयोग मात्र गर्ने हो कि, राज्यसत्ता सञ्चालनमा उनीहरूको समानुपातिक प्रतिनिधित्व र सहभागिता पनि सुनिश्चित गर्ने हो ? आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपालका राजनीतिक दल र तिनका प्रमुख नेतृत्वले यी प्रश्नहरूको उत्तर दिनैपर्छ । किनभने अब साढे छ हजारभन्दा धेरै दलित महिला वडा सदस्यले नै यी प्रश्नहरू गर्नेछन् । अब दलित तथा सीमान्तकृत समुदाय यी प्रश्नहरूको उत्तरबिना चुप लागेर बस्नेवाला छैनन् ।
गत निर्वाचनले वडास्तरमा दलित महिलाको अभूतपूर्व र जबरजस्त उपस्थिति गराएको छ । पालिकाका बैठकहरूमा अन्य जातिका जनप्रतिनिधिसँगै बसेर उनीहरू चिया पिउन र आफ्ना विचार राख्न सक्ने भएका छन् । यो कुनै चानचुने उपलब्धि पटक्कै होइन । उदाहरणका लागि, गएको हप्ता यो पंक्तिकारलाई जनकपुरमा एक वडा सदस्य प्रमिला दासले भनेकी थिइन्, ‘यसपल्ट पार्टीले मलाई वडा सदस्यमा सिफारिस गरेन । मैले पनि पार्टीलाई भनें- वडा सदस्यमा मलाई होइन अर्की दलित महिलालाई सिफारिस गर्नुस् । अब म उपमेयरमा लड्छु ।’
यसरी अहिले गाउँ–गाउँमा, नगर–नगरमा दलित महिलाले आफ्नो दाबेदारी बलियोसँग प्रस्तुत गरिरहेका छन् । बदलिँदो नेपाली समाजको योभन्दा सुन्दर पक्ष अर्को हुनै सक्दैन । हुन त दलित महिलाले वडा सदस्यका रूपमा कामै गर्न सकेनन् भन्ने दुष्प्रचार गर्न खोजिएको छ, जुन असाध्यै दुःखद पक्ष हो ।
Source: https://ekantipur.com/opinion/2022/04/24/165076592796461838.html?author=1