
रारामा लट्ठिँदा…
नयाँ ठाउँ घुम्न अनि मान्छेहरूको कथा सुन्न कसलाई मन नपर्ला ? ती कथाबाट अनगिन्ती कुरा सिक्न सकिन्छ । त्यसकै लागि म बारम्बार यात्रामा निस्किरहेको हुन्छु । यस्तै एउटा अवसर जुट्यो फागुन २३ गते ।
पहिलो दिनको यात्रा काठमाडौं–नेपालगन्ज हुँदै दैलेखसम्मको थियो । १ सय ७६ किलोमिटर लामो नेपालगन्ज–दैलेख सडकमा प्रशस्त उकाली ओराली र घुम्तीहरू थिए । बर्दिया राष्ट्रिय निकुञ्जको केही भाग अनि बबई र भेरी नदी पार गर्दै हामी सुर्खेत उपत्यका पुग्यौं । त्यहाँको हरियालीले मलाई जहिल्यै लोभ्याउँछ । सुर्खेतबाट उकालो लागेपछि वनैभरि फुलेको लालीगुँरास झन मनै हर्ने थियो । हामी साँझमा पुग्दा दैलेख बजार निदाइसकेको थियो, कुनै चहलपहल थिएन । भोलिपल्टको सूर्योदयसँगै खुल्यो दैलेख बजार– चारैतिर हरियाली अनि सानो मिलेको बजार । यसपछि हाम्रो यात्रा अघि बढ्यो दैलेखतर्फ । कर्णाली राजमार्गको अप्ठ्यारो भाग यही बीचमा पर्दथ्यो । दैलेखबाट ओरालो झरेर कर्णालीको तिरैतिर नदीको गडगडाहट सुन्दै हिँड्नुको मज्जै बेग्लै ।
यसअघि कालिकोट बुद्धिसागरको ‘कर्नाली ब्लुज’ मार्फत् गइसकिएको थियो, भौतिक रूपमा नपुगे पनि । त्यसैले मान्मप्रति जुन धारणा थियो, त्यहाँ पुगेपछि त्यस्तै पाएँ । चट्टानै चट्टानले बनेको पहाडमाथि सानो बजार तर चहलपहल भने गजबकै देखिन्थ्यो । केही मानिससँग कुरा गरेर मान्मलाई अलिअलि बुझ्दा नबुझ्दै हामीलाई जुम्ला पुग्ने हतारो भइसकेको थियो ।
मान्मबाट जुम्लासम्म पुग्दा बीचबाटोमा कतै हरियो सानो फाँट, कतै चट्टान काटेर बनाएको अप्ठ्यारो बाटो, कतै स्याउको बोटमा फुलेको फूलले यात्रालाई फरकफरक ढंगले रोमाञ्चक बनाएको थियो । हामी राति पुग्दा जुम्ला सुतिसकेको थियो । तर हामी बस्ने होटल स्नोल्यान्डमा काठमाडांैबाट रारा घुम्न हिँडेका १०/१५ जनाको युवा टोली भने रमाइलो गर्दै थियो ।
भोलिपल्ट बिहान सूर्योदयसँगै जुम्ला बजारबाट हिमाल अनि जताततै स्याउ फुलेको देख्दा बडो गज्जब अनुभूति भयो । अनि त्यहाँ हामीले सञ्चालनमा आउन लागेको स्याउ ग्रेडिङ मेसिन हेर्यौं ।
बिहानको खानापछि हामी मुगुको गमगढीतर्फ हिँड्यौ । खस भाषाको उत्पत्तिथलो मानिएको सिंजा उपत्यका हुँदै गमगढी जान कच्ची बाटो पछ्याउनुपथ्र्यो । सिंजा उपत्यकाका हरिया फाँट देख्दा मन नरम्ने कुरै थिएन । अझ बाटोमा भेटिए एक हूल महिला दिदीबहिनी । महिला दिवस मनाएर फर्किएका रहेछन् उनीहरू । हामी बाटोमा भेटिएका मानिससँग कुरा गथ्र्यौं, चियापसलमा भुलिन्थ्यांै । मान्मदेखि गमगढी पुग्न ९६ किलोमिटर भए पनि बाटो कच्ची र अप्ठ्यारो भएकोले समय धेरै लाग्यो ।
सिंजा उपत्यका कटेर उकालो लागेपछि बाटोमै हिउँ भेट्यांै, राति भए पनि हामीले हिउँ खेल्न बाँकी राखेनौं । गमगढी पुग्दा रात छिप्पिसकेको थियो । भोलिपल्ट बिहान गमगढी बजार घुम्दै मान्छेहरूसँग भलाकुसारी गर्यौं ।
गमगढी छोड्दा दिउँसो १ बजिसकेको थियो । हामी ताल्चा विमानस्थल हुँदै रारा तालको नजिकै सम्म गाडीमै पुग्यांै । आधा घण्टा हिँडेर रारा तालको छेउ जाँदा स्वर्गमै पुगेको अनुभूति भयो । रारा नियाल्दा मिलेको आनन्दको अनुभूति शब्दमा वर्णन गर्नै सकिन्न । राराको किनारै–किनार हिँड्दा वरिपरि देखिएको हरियाली, डाँडामा देखिएको हिउँ अनि तालमा प्रतिबिम्बित सूर्यास्तको दृश्य कुनै क्यानभासको चित्रभन्दा कम्ता थिएन ।
यसरी दुई घण्टा रारा किनारै किनार हिँडेपछि डाँफे होटल पुग्दा साँझ परिसकेको थियो । होटल छेउमा बसेर राराको आवाज अनि शीतल अनुभव गर्न पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिएँ । तर भोलिपल्ट बिहानै रारा छोड्नुपर्ने थियो, ताल्चा विमानस्थलबाट बिहान ७:४५ को नेपाल एअरलाइन्सको विमानबाट नेपालगन्ज फर्कनुपर्ने थियो । त्यसका लागि हामीले बिहान ५.३० मा होटल छाडिसकेका थियौं । सूर्योदय हुँदै थियो । त्यस क्षणका मनै लोभ्याउने तस्बिरहरू क्यामेरामा कैद गर्दै हामी फटाफट हिँडिरहेका थियौं । यत्तिकैमा एकजना साथीले प्लेन आएको आवाज सुने । हामी हतार गर्दै गाडी भएको ठाउँसम्म पुग्यांै अनि विमानस्थलतर्फ लाग्यौं । तर हामी पुग्दा नेपाल एअरलाइन्स विमानको ढोका बन्द भइसकेको थियो । विस्तारै विमान रन–वेतर्फ गयो । मैले उड्न लागेको विमानको फोटो खिच्न खोजें तर चिसोले क्यामेराको ब्याट्रीले काम गरेन । विमान ताल्चा विमानस्थल छाडेर आकाशमा पुगिसकेको थियो । हामी उडेको विमान हेरिरह्यौं ।