नेपाली युवा प्रदिप परियारले पाए योङ ग्लोबल लिडर्स अवार्ड
काठमाडौँ– विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ।
मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका थिए। विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो।
परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एकमात्र नेपाली युवा हुन्।
बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पुर्याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो।’
यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले वाइजिएल अवार्ड पाएका थिए। थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत सम्हालिसकेका छन्।
वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्व प्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ।
पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, ‘मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो।’
हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्याय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन्।
परियार भन्छन्, ‘यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवर्द्धनका लागि झन् दृढ भइ अघि बढ्ने प्रेरणा मिलेको छ।’
परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए।
संयुक्त राष्ट्र संघको युवा, शान्ति र सुरक्षा सम्बन्धी पहिलो सङ्कल्प प्रस्तावको मस्यौदामा पनि परियारको भूमिका छ। उनले खासगरी सामाजिक समावेशीकरणको दृष्टिकोणबाट युवाका आकांक्षा एवं अनुभवहरू प्रस्तुत गरी त्यो मस्यौदालाई आकार दिन सहयोग पुर्याएका थिए।
सन् २०१८ मा संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी उच्चायुक्तको कार्यालय, जेनेभामा जातीय विभेद उन्मूलन सम्बन्धी समितिबारे छायाँ प्रतिवेदन बुझाउने टोलीमा पनि परियार संलग्न थिए।
परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ।
विश्वभरि उनले दुई हजारभन्दा धेरै युवालाई प्रशिक्षण दिएका छन्। युवा, शान्ति र मिडियासम्बन्धी मुद्दाबारे परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार प्रस्तुत गर्दै आएका छन्।