नयाँ शक्ति केका लागि ?
काठमाडौं — नयाँ शक्तिको बहस विभिन्न ढंगले चलिरहेको छ । समय र सन्दर्भअनुरुप नेपालमा नयाँ शक्ति उदय भएको इतिहास छ ।
भलै त्यो बेला नयाँ शक्तिको नाम दिइएन होला । २००७ सालमा राणाविरुद्ध सुरु भएको कांग्रेसको अभियानलाई पनि त्यसबेलाको नयाँ शक्ति मान्न सकिन्छ, त्यसैताका पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पनि नयाँ शक्ति मान्न सकिन्छ । २०४६ सालको परिवर्तनपछि धेरै नयाँ शक्ति जन्मिए ।
२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र युद्ध पनि नयाँ शक्ति निर्माणकै अंग थियो । मूलभूत रूपमा यी सबै नयाँ शक्तिको साझा र पहिलो लक्ष्य भनेको व्यवस्था परिवर्तन थियो ।
कुनै न कुनै रूपमा व्यवस्था परिवर्तन गर्न तत्कालीन नयाँ शक्ति वा पार्टीहरू सफल भएको मान्नुपर्छ । तर व्यवस्था परिवर्तन गर्न सफल भए पनि परिवर्तित व्यवस्थालाई संस्थागत गर्न असफल भए । जसका कारण नेपाली राजनीति एकपछि अर्को व्यवस्था परिवर्तनको आन्दोलनमा सीमित रह्यो र जनताले व्यवस्था परिवर्तनको खास अनुभूति गर्न सकेनन् ।
व्यवस्था परिवर्तनसँगै आम मान्छेले अनुभूत गर्ने किसिमको परिवर्तन या आम जनताको चासो कसरी सम्बोधन गर्ने भन्ने रणनीतिचाहिँ दलहरूसँग रहेनछ भन्ने बुझिन्छ ।
केही दिन अगाडि महात्मा गान्धीका नाति एवं महात्मा गान्धीको व्यक्तिगत जीवनीका लेखक राजमोहन गान्धीसँग छलफल गर्दै थिएँ, उनी भन्दै थिए कि साझा लक्ष्य प्राप्तिका लागि हिँडेका दलका नेताहरूको इगो क्लास (व्यक्तित्व बीचको टकरावले) लक्ष्य साझा हुँदाहुँदै पनि दलहरू फुट्ने र परिवर्तन संस्थागत नहुने तर्क गर्दै थिए ।
उनले दिल्लीमा नयाँ शक्तिको रूपमा उदाएको आमआद्मी पार्टीको उदाहरण दिँदै भनेका थिए कि फरक गर्छौं भनेर चुनाव जितेको आमआद्मी पार्टीको नेतृत्वबीच चुनाव जितेको भोलिपल्टदेखि खटपट सुरु भयो । त्यो कुनै फरक विचारले नभएर नेतृत्व बीचको टकरावमात्र थियो ।
नेपालमा नयाँ शक्तिको कुरा गर्नेहरूले भारतमा पछिल्लो समय उदाएको आमआद्मी पार्टीको उदाहरण दिने गर्छन् ।
२०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सीमित नेताको सीमित स्वार्थमा अल्झियो ।
हुँदाहुँदा आफ्नो पार्टीको सरकार ढाल्नेदेखि मध्यावधि निर्वाचन गराउनेसम्म भएर नेताहरूको स्वार्थबीच टकराव बढ्दै जाँदा कांग्रेस पार्टी अन्तत: फुट्यो । त्यसपछि पहिलो शक्तिको रूपमा नेकपा एमालेको उदय भयो । पहिलो कम्युनिष्ट पार्टीको सरकार भएपछि धेरैलाई लागेको थियो, धेरै परिर्वतन हुन्छ ।
तर त्यस्तो चमत्कारिक परिवर्तन हुनुको साटो यो पार्टी पनि फुटेको इतिहास छ । फुटलाई सैद्धान्तिक लेप दिइए पनि यो पार्टी फुट्नुमा पनि व्यक्तित्वको टकरावले महत्त्वपूर्ण काम गरेको छ ।
१० वर्ष लामो सशस्त्र युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा होमिएको माओवादीले नेपाली जनताको परिवर्तन उत्कट चाहनालाई प्रतिनिधित्व गर्न सक्छ भन्ने विश्वास गरेर नै नेपाली जनताले पहिलो संविधानसभामा माओवादीलाई पहिलो पार्टीको रूपमा पठाए, पहिलो संविधानसभाबाट संविधान त बनेन—बनेन, माओवादी सरकारमा भएकै बेला अझ भनौं अहिले नयाँ शक्तिको वकालत गरिरहेका डा.बाबुराम भट्टराई नेतृत्व सरकारको पालामा संविधानसभासमेत विघटन भयो, सँगसँगै राजनीतिक कार्यदिशा मिलेन भन्दै माओवादी पार्टी फुट्यो ।
संवैधानिक समितिको सभापतिको रूपमा समेत संविधान बनाउन नेतृत्व गर्ने मध्येका एक बाबुराम भट्टराई पार्टी छाडेर नयाँ शक्ति निर्माण गर्ने अभियानमा लाग्नुको पछाडि अरु कारण जे भए पनि मूलभूत रूपमा नेतृत्व बीचको टकराव नै हो ।
२०६२/६३ को आन्दोलनपछि जातीय र क्षेत्रीय मुद्दा व्यापक रूपमा बाहिर आए । यसैको फलस्वरुप मधेसमा लामो समयदेखि हुँदै आएको उत्पीडन विरुद्ध जबर्जस्त आन्दोलन भयो । एउटा सामाजिक संस्थाको रूपमा रहेको मधेसी जनअधिकार फोरमलाई जबर्जस्त ढंगले मधेसमा नयाँ शक्तिको रूपमा स्थापित गरायो ।
र सँगसँगै पहिलो संविधानसभामा चौथो ठूलो दल बन्यो । मुद्दाको हिसाबले अत्यन्तै नजिक रहेको नेतृत्व पनि सीमित स्वार्थ बीचको टकरावका कारण फोरम पनि धेरैपटक फुट्यो ।
समय—समयमा बनेका नयाँ शक्तिहरू कसरी देश र जनताको हितमा लाग्नुभन्दा पनि बढी आफ्नै सीमित स्वार्थमा लागे, साझा लक्ष्य प्राप्तिका लागि सामुहिक नेतृत्व विकास गर्न सकेनन् । अहिले आम नेपालीमा निराशाको ग्राफ यति बढेको छ कि जोकोहीले केही गरिहाल्छु भने पनि झट्ट विश्वास गर्ने आधार छैनन् ।
source: https://ekantipur.com/opinion/2016/02/04/20160204084507.html?author=1